आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण 


  • 253
    SHARES
  • https://indrenipost.com/posts/9045
    बैशाख २८, २०८२ आइतबार
    गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण 

    काठमाडौं ।   बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण गरिएका छन् । वडा नम्बर १ को दुदिलाभाटी र वडा नम्बर ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।

    दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उक्त भवन गत माघमा सम्पन्न भएको थियो ।मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवतीरकेसी निर्माण सेवा जेभीले दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो ।

    प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्‍त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् । दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताइन् । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ ।

    पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४  स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् ।

    नगरपालिकाले नौ स्थानमा बर्थिङ  सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij