हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् । सरकार जोगाउन एमालेले गठबन्धनबाहिर रहेका प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन् ।
एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले गत भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन् । एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले गत भदौ २५ मा मान्यता प्रदान गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।
एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । अल्पमतमा परेकी शाक्यले असोज २५ भित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।