शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलमा नयाँ नेता चयनका लागि आज मतदान हुँदै


  • 370
    SHARES
  • https://indrenipost.com/posts/9669
    साउन १४, २०८२ बुधबार
    कांग्रेस बागमती प्रदेश संसदीय दलमा नयाँ नेता चयनका लागि आज मतदान हुँदै

    बागमती, १४ साउनः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नयाँ नेताको चयनका लागि आज मतदान हुँदैछ । पूर्व नेता बहादुरसिंह लामाले दलको नेताबाट हैसियत गुमाएपछि रिक्त भएको पदमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रिया अगाडि बढाइएको हो ।
    निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारी दर्ता बिहान १०ः०० देखि ११ः०० बजेसम्म हुनेछ भने मतदान प्रक्रिया अपराह्न २ः०० देखि ३ः०० बजेसम्म सञ्चालन हुनेछ । श्रेष्ठले बताएअनुसार निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष हुने गरी आवश्यक तयारी पूरा भइसकेको छ ।
    नेतृत्व चयनका लागि सम्भावित आकांक्षी नेताहरूबीच अहिले अन्तिम कसरत भइरहेको छ । दलभित्र शक्ति सन्तुलन र गुटगत समीकरणका आधारमा नेतृत्वको प्रतिस्पर्धा चर्किएको देखिन्छ । अहिलेको अवस्थामा कुन नेताले बहुमतको समर्थन जुटाउने भन्नेमा चासो चुलिएको छ ।
    दलको आन्तरिक राजनीतिमा लामाले हालसम्म खेलेको भूमिका र उनलाई हटाउन लागिएको प्रक्रिया कांग्रेसको आन्तरिक शक्ति सन्तुलन परिवर्तनतर्फ संकेत गरिरहेको छ। लामाले आफू संसदीय दलको नेता भए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए, जसले दलभित्र मतभेद चुलिएको थियो ।
    कांग्रेस प्रदेश संसदीय दलमा कुल ३७ जना सांसद छन्। नयाँ नेताको चयनका लागि कम्तीमा १९ मत आवश्यक पर्नेछ। उम्मेदवारी दिन चाहने नेताहरूले आफ्नो पक्षमा आवश्यक संख्याको सुनिश्चितता गर्दै अन्तिम समयसम्म दौडधूप गरिरहेका छन् ।
    प्रदेश राजनीति र विशेष गरी गठबन्धनको भविष्यलाई समेत प्रभावित पार्ने यस नेतृत्व चयन प्रक्रतालाई मुलुकभरको राजनीतिक वृत्तले गम्भीरताका साथ हेरिरहेको छ। परिणामले न केवल कांग्रेसको आन्तरिक शक्ति समीकरण बदल्न सक्छ, तर प्रदेश सरकारको नेतृत्व र स्थायित्वसमेत प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij