नेपालगञ्ज, २२ साउन – कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्जको इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतले बैंकका पूर्वअध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र र तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई समेत पुर्पक्ष थुनामा राख्न आदेश दिएको हो । उनीहरूलाई मुद्दा प्रभावित पार्न सक्ने ठहरसहित थुनामा राख्न आदेश दिइएको बताइएको छ ।
त्यसैगरी, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने रु दुई लाख धरौटीमा रिहा गर्ने आदेश भए पनि उनले धरौटी रकम तत्काल बुझाउन नसकेका कारण हाललाई थुनामा राखिएको छ ।
अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, उच्च अदालत तुलसीपुर नेपालगञ्जका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बुधबार फैसला सुनाएको हो ।
सिआइबीले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत उच्च अदालतमा रु ३ अर्ब २० करोडभन्दा बढीको हिनामिना आरोपमा मुद्दा दायर गरिएको थियो । सो प्रकरणमा कूल १०९ जनालाई प्रतिवादी बनाइएको छ, जसमध्ये १०३ जना अझै फरार रहेका छन् ।
अदालतका अनुसार संस्थापक अध्यक्ष रायसँग मात्र रु २ अर्ब ६३ करोड ३२ लाख बढीको बिगो माग दाबी गरिएको छ । त्यस्तै, मिश्रसँग रु ८२ करोड ४६ लाख, ठकुरीसँग रु २४ करोड ६३ लाख, र बस्नेतसँग रु १० करोड ८९ लाखभन्दा बढीको बिगो तथा जरिवाना माग गरिएको छ ।
अदालतले फरार प्रतिवादीहरूमाथि म्याद तामेली जारी गर्ने आदेशसमेत दिएको छ ।