काठमाडौँ, २२ साउन – देशभर मनसुनको प्रभाव सक्रिय रहे पनि आज जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा मुलुकको तराई भू–भागमा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । यसको प्रभाव स्वरूप आज कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।
कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका केही पहाडी तथा तराई भू–भागमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। यस अवधिमा मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।