काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनलाई समाजवादी यात्राको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन । कृषि, उद्योग, जडीबुटी र पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत मात्र पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्न सकिने उनको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा अध्यक्ष दाहालले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने यसको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।”
हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्घर्ष’ भन्ने निर्णयलाई कार्यान्वयन गर्न नसकेको स्वीकार गर्दै उनले अब पार्टी जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान सञ्चालन गर्ने स्पष्ट पारेका छन ।