चितवन, १६ भदौ । पछिल्ला वर्षमा नेपालमा उत्पादन हुने अण्डा ‘एन्टीबायोटिकरहित’ भएको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक विधिबाट रोग नियन्त्रण गरी गुणस्तरीय अण्डा उत्पादन सुरु गरिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त दाहालका अनुसार हाल अधिकांश पोल्ट्री फार्ममा एन्टीबायोटिक पूर्ण रूपमा निषेध गरिएको छ । अब कुखुरामा खोप र जडीबुटीजन्य खुराक प्रयोग गर्ने गरिएको छ ।
यसअघि दाना र पानीमा ‘एजीपी’ भनिने एन्टीबायोटिक प्रयोग हुन्थ्यो, जसको अवशेष अण्डामा पुगेर मानव स्वास्थ्यमा असर गर्थ्यो । हाल प्रयोग हुने भ्याक्सिनले कुखुराको प्रतिरोधात्मक क्षमता बढाउने मात्र भएकाले अण्डामा असर नगर्ने विज्ञहरूको भनाइ छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले संघका फार्महरुमा एन्टीबायोटिक प्रयोग बन्द भएको र गुणस्तरीय अण्डा उत्पादनमा जोड दिइएको बताए । जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले रोग नियन्त्रणका लागि वैकल्पिक उपाय अपनाइएको बताए । तर, सीमा क्षेत्रमा बाहिरबाट आउने अण्डाको गुणस्तरबारे भने शंका रहने उनको भनाइ छ ।
फिजिसियन डा.भोजराज अधिकारीका अनुसार कुखुरामा देखिने रोग अण्डामा सर्ने हुँदैन । एन्टीबायोटिक प्रयोग रोकिएपछि अण्डा थप स्वस्थकर र मानव स्वास्थ्यका लागि उपयोगी भएको उनले बताए ।