काठमाडौ १५,असार । ग्यालिलियो ग्यालिलि, न्यूटन र अल्बर्ट आइन्स्टाइन पछिको सबैभन्दा चर्चित स्टार वैज्ञानिक हुन् स्टेफेन हकिङ । भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री र जन साधारणलाई सरल तरिकाले विज्ञान बुझाउने वैज्ञानिक लेखक हुन् उनी । ब्ल्याकहोल, महाविस्फोटका सिद्धान्त, समय र ब्रह्माण्डका नियमहरुको खोजको लागि विश्व प्रसिद्ध छन् । उनले लेखेको समयको संक्षिप्त इतिहास संसारभरका सबैजसो प्रमुख भाषामा छापिएको चर्चित पुस्तक हो ।
एक्काइस वर्षको उमेरमा मोटर न्यूरोन भनिने घातक रोगबाट ग्रस्त र डाक्टरले मात्र दुई वर्षको बाँकी जीवन भनेर घोषणा गरेका व्यक्ति ७६ वर्षको उमेर सम्म बाँचे । पूर्णतः पक्षघात भएको शरिरसँगै बोलि पनि गुमाए । उनी चढ्ने ह्वीलचियरमा जोडिएको स्पीच सिंथेसाइजर भनिने उपकरणको सहायताले उनले बोल्न सक्थे । जुन प्रविधिले पाठलाई ध्वनीमा रुपान्तरण गर्न मद्दत गर्दछ । करीब तीस वर्षसम्म उनले यही प्रविधि प्रयोग गरेर ठुलठुला वैज्ञानिक आविष्कारहरु गरे र पुस्तकहरु लेखे । तिनै पुस्तकहरु मध्ये एक हो ठुला प्रश्नहरुको संक्षिप्त उत्तर ।
यस पुस्तकमा उनले जम्मा दश प्रश्नहरुको उत्तर दिएका छन् जसलाई यहाँ सारमा प्रस्तुत गरिएको छ । पहिलो प्रश्न हो के त्यहाँ भगवान छ ? उनी भन्छन् मेरो विचारमा साधारण व्याख्या यो हो कि त्यहाँ भगवान छैन । ब्रह्माण्ड आफैमा पुर्ण भएकाले यसलाई कुनै सृष्टिकर्ताको जरुरत पर्दैन । महाविस्फोट अघि समय थिएन तसर्थ भगवानलाई सृष्टि गर्न पनि समय थिएन । यदी सृष्टिलाई सृष्टिकर्ताको जरुरत पर्ने भए सृष्टिकर्तालाई पनि कसैले सृजना गर्नुपर्दथ्यो । प्रकृतिका नियमहरु हामीले जान्न सक्ने भएकोले पनि यहाँ हामीलाई भगवानको उपस्थिति जरुरत पर्दैन । दोस्रो प्रश्न हो यो सबै कसरी शुरु भयो ? महाविस्फोटबाट । महाविस्फोट सँगै पदार्थ, समय, उर्जा र स्थानको शुरुवात भएको हो । तेस्रोे प्रश्न हो के त्यहाँ ब्रह्माण्डका अर्को कुनै बौद्धिक जीवन छ ? संभावना छ तर अहिलेसम्म हामीले भेटाएको छैनौ । चौथो प्रश्न हो के हामी भविष्यको भविष्यवाणी गर्न सक्छौ ? केही हदम्म संभव छ जस्तै वैज्ञानिक नियमहरु तर पूर्णत संभव छैन क्वान्टम अनिश्चितताको कारण । पाँचौँ प्रश्न हो ब्ल्याक होल भित्र के छ ? अधिक घनत्व, सूचना समावेश र समयको अन्त्य । उनको सबैभन्दा महान् खोज ब्ल्याक होलका बारेमा हो । जसलाई हकिंग रेडियसन भनेर चिनिन्छ । छैठौ प्रश्न हो के समय यात्रा संभव छ ? सैद्धान्तिक रुपमा संभव तर व्यवहारिक रुपमा असंभव छ । सातौँ प्रश्न हो के हामी पृथ्वीमा जीवित रहन सक्छौ ? जलवायु परिवर्तन, आणविक युद्ध र कृत्रिम बुद्धिमताको खतरा नियन्त्रण गर्न सकेनौ भने जीवित रहन सक्दैनौ। आठौ प्रश्न हो के हामीले अन्तरिक्षमा बसाइ सर्नु पर्दछ ? दीर्घकालिन अस्तित्वका लागि पृथ्वी बाहिर बाँच्न आवश्यक छ । नवौ प्रश्न हो के कृत्रिम बुद्धिमताले हामीलाई विस्थापित गर्न सक्छ ? यदी नियन्त्रण नगरेमा मानव सभ्यतालाई नै नष्ट गर्न सक्छ । र अन्तिम र दशौँ प्रश्न हो हामीले भविष्यलाई कसरी आकार दिन सक्छौ ? विज्ञान, शिक्षा, सहिष्णुता र विश्वव्यापी सहकार्यबाट सकारात्मक भविष्य संभव छ । यी प्रश्नहरुको सिलसिलेवार र विस्तृत जवाफको लागि उनको पुस्तक अध्ययन गरौ।