काठमाडौं । मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले सबै दलबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।
माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि विहीबार मध्यान्ह बसेको स्थायी कमिटीले नाम टुंगो लगाएको छ ।
उता जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ । अहिलेको बैठकमा केही मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ ।
गठबन्धनबीचमा कुन दलले कुन कुन मन्त्रालय लिने समझदारी भएपनि केही मन्त्रालयका विषयमा एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन् ।