काठमाडौं । धनुषाको नगराइनकी एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन् । धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् ।
श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
‘श्रीमान केही कामको शिलशिलामा जनकपुर गएको बेला गुडियाले साँझ ६ बजेतिर आफ्नै घरमा दुई नाबालक छोराको डोरीले घाँटी कसेर हत्या गरिछन्,’ बस्नेतले नेपालखबरसँग भने, ‘नाबालक दुई छोराको हत्यापछि उनले पनि सोही डोरीले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीका अनुसार गुडियाले घटना गर्नुअघि ३ बजेतिर श्रीमानलाई फोन गरेर घर कतिबजे फर्किने भनेर सोधेकी थिइन् । गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो । प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ ।
‘घरमा श्रीमानसँग कुनै विवाद देखिँदैन, माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरुको हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ,’ डिएसपी बस्नेतले भने । तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।