(लेखक प्रतिनिधिसभा सदस्य, नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत हुन् ।)
हरेक बर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवका रुपमा मानाउने गर्दछौं । महिला आन्दोलनको इतिहास, वर्तमान र भविष्यको कडीहरुलाई जोड्ने उद्धेश्यका साथै हालसम्म हुदै आएका प्रयास र सफलताहरुप्रति गर्व गर्दै थप अधिकार प्राप्तीका लागि संकल्प र प्रतिबध्दता गर्ने अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरीएको छ । यस दृष्टिले ८ मार्च स्वयंमा जागरण, एकता, संघर्ष र प्रतिवद्धताको दिन पनि बन्ने गरेको छ ।
इतिहासमा कुनै बेला अस्तित्वमा रहेको मातृसत्ता पितृसत्ताद्धारा पराजित हुन पुगेसगै क्रमश: महिलाहरु दोस्र दर्जाको नागरिक बन्न बाध्य भए । सबै क्षेत्रमा अधिकार बिहिन हुदै पुरुषको सेवक अनि मनोरन्जनको साधन बन्दै गए । सोहि अनुरुपको कानुनी व्यवस्था र सामाजिक मूल्यहरु स्थापित गर्दै लगिए । मानविय अस्तित्वको अभिन्न हिस्सा बनिरहेका महिलाहरु दोस्रो दर्जाको नागरिक बनिरहन सक्ने कुरा सम्भव र व्यवहारिक हुदैन थियो र भएन पनि । आफु माथिको दमन र बिभेदका बिरुद्ध महिलाहरुले ठाउँ ठाउँमा बिभिन्न प्रकारका बिरोधहरु प्रकट गर्न थाले । कतै मताधिकार प्राप्तिका निम्ति प्रदर्शनहरु हुन थाले भने कुनै ठाउमा समान कामको समान ज्यालाका निम्ति आवाज बुलन्द गर्न थाले । यसरी बिभिन्न मुलुकहरुमा हुदै आएका महिला आन्दोलनहरुको सम्मान र तिनलाई अझ संगठित रुप दिने उद्धेश्य अनुरुप ८ मार्च लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय डेनमार्कको कोपनहेगनमा भएको सन १९११ को दोेस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले गर्यो । उक्त प्रस्ताव समाजवादी नेतृ क्लारा जेट्किनले गरेकी थिइन् ।
राजनीतिक क्षेत्रमा ५० प्रतिशत सहभागिताको कुरा, आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागु गर्न थप मेहनत गर्दै जानु पर्नेछ । प्राप्त अधिकारमाथि ग्रामिण र श्रमिक महिलाको पहुँच कसरी बढाउने, महिला अधिकार र समानताको एजेण्डालाई सर्वसाधरणको एजेण्डा कसरी बनाउने ? यी आजका थप ज्वलन्त सवालहरु हुन् ।
मार्च ८ को भावना पितृसत्ताको सट्टा मातृसत्ताको पुनःस्थापना नभएर सबै क्षेत्रमा समानता र सह–अस्तित्वको सुनिश्चितता हो । सबै खाले भेदभावहरुको अन्त र समतामुलक समाज व्यवस्थाको स्थापना हो । त्यस खाले समाज व्यवस्थाभित्र मात्र सबै तहका महिलाहरुले समानताको अधिकारलाई निर्वाध ढंगले उपयोग गर्न सक्दछन् । यसरी संगठित रुपमा थालनी भएको यो अभियानले एक सताब्दीभन्दा बढि समय पुरा गरेको छ । यस क्रममा महिलाहरुले केहि महत्वपूर्ण अधिकारहरु प्राप्त पनि गर्दै आएका छन । तर अझै ती प्रयाप्त भने छैनन् । प्राप्त भएका अधिकारहरुप्रति गौरव गर्दै तिनको रक्षा गर्नु र थप अधिकारहरुको प्राप्तीका निम्ति सुसंगठीत भएर लाग्न अझ प्रतिवद्ध हुनु आजको आवश्यकता हो । यहि नै ८ मार्च मनाउनुको अर्थ हो ।
नेपालको सन्दर्भमा हेर्दा “विना भेदभाव समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वस्थ सम्वन्धि हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुने हक, महिलाहरुलाई सकारात्मक विभेदका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक, सम्पति र पारिवारीक मामलामा दम्पतिको समान हक,” महिला विरुद्ध कुनै पनि नाममा कुनै खालको हिंसा गर्न नपाइने विषय महिलाहरुको मौलिक हकको रुपमा संवैधानिक व्यवस्था आफैमा महत्वपूर्ण उपलब्धी हो । नेपाली महिला आन्दोलनले प्राप्त गरेको मूल्यवान साधन हो । साथै विभिन्न संघर्षका क्रममा महिलाहरुबीच विकसित हुँदै गएको जागरण र आत्मबिश्वास अर्को महत्वपूर्ण उपलब्धी हो ।
संविधानमा व्यवस्था गरिएका अधिकारको महिलाहरुले केहि हदसम्म उपयोग गर्न शुरु गरेका छन् । संविधानले गरेको विशेष अधिकार उपयोगको अलवा विभिन्न क्षेत्रमा महिलाले आफ्नो विशिष्ट क्षमता प्रदर्शन गर्दै आएका छन् । चाहे जनयुद्ध, जनआन्दोलनको अग्र मोर्चामा खेलेको भूमिका होस, चाहे राष्ट्र प्रमुख, न्यायालय प्रमुख, व्यवस्थापिका प्रमुखका रुपमा महिलाले कुशलतापूर्वक निर्वाह गर्दै आएका जिम्मेवारीको विषय होस् । हिमाल आरोहण लगायतका साहसिक र विरतापूर्ण कार्यहरु होस । त्यति मात्रै होइन, सामाजिक सेवाका अन्य क्षेत्रमा नेपाली महिलाले आफ्नो कर्मद्धारा महिलाको हैसियत र महत्वलाई उजागर गर्दै आएका विषयहरु पनि उत्तिकै गौरव गर्न लायक छन् । स्कुल जाने छोरीको संख्या बढ्दैछ । मातृ मृत्युदर घट्दो छ । घरदैलो भित्रको काममा सिमित महिलाको ठूलो संख्या घर बाहिरको उत्पादनशील क्षेत्रमा पुरुषसँग काँधमा काँध जोडेर भाग लिने क्रम बढ्दो छ । यी विषयहरु पनि महिला मुक्ति आन्दोलनका सुखद पक्ष हुन ।
माथि उल्लेखित उपलब्धी र गौरवको चर्चा गरिरहदा हामीले यो पनि बिर्सन हुँदैन कि समानताको आन्दोलनलाई पूर्णता दिन र त्यसको सम्पूर्ण रुपमा व्यवहारिक कार्यन्वयन गर्न अझै बाँकि छ । र, त्यसका निम्ति हामीले अझै संगठित रुपमा आवाज उठाइरहनु पर्नेछ ।
राजनीतिक क्षेत्रमा ५० प्रतिशत सहभागिताको कुरा, आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागु गर्न थप मेहनत गर्दै जानु पर्नेछ । प्राप्त अधिकारमाथि ग्रामिण र श्रमिक महिलाको पहुँच कसरी बढाउने, महिला अधिकार र समानताको एजेण्डालाई सर्वसाधरणको एजेण्डा कसरी बनाउने ? यी आजका थप ज्वलन्त सवालहरु हुन् । छोरी जन्मदा पीडाबोध गर्ने, परिवारमा छोराको उपस्थिति अनिवार्य ठान्ने हाम्रा सामाजिक मूल्यमान्यता केही हदसम्म अझै कायम छन् । समान कामको समान ज्याला र योग्यता अनुसारको काम प्राप्त गर्ने कुरामा समस्या रहदै आएका छन् । बालिका र बृद्धाहरुसमेत यौन हिंसाको सिकार हुने घटना महिलाको समान अधिकारको अभियानमा ठूलै चुनौती बनिरहेका छन । ८ मार्चले यी समस्यासमेत समाधानका लागि सबैलाई संगठित रुपमा लाग्न प्रेरित गर्नेछ भन्ने विस्वास छ । यसको निम्ति हामी सबैलाई आठ मार्चले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छासहितको शुभकामना ।