गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुने बताइएको छ ।
कार्यक्रम अनुसार १०ः३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नेछ । यसपश्चात् पोखरा सभा गृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।
ती कार्यक्रमपछि नेपाली काँग्रेसका सभापति देउवा काँग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिए ।