आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

श्रमिक महिला दिवसः निरन्तर आन्दोलन

  • 212.6K
    SHARES
  • https://indrenipost.com/posts/111
    फागुन २५, २०७६ आइतबार
    श्रमिक महिला दिवसः निरन्तर आन्दोलन

    (लेखिका अनेरास्ववियूका नेतृ हुन्)

    श्रमिक महिला दिवस

    मार्च ८, हजारौं वर्षदेखिको उत्पीडन विरुद्धको महिलाहरुले गरेको विद्रोह थियो । न्याय र समानताका लागि बालिएको मशाल थियो । विश्वभरीका श्रमिक महिलाहरुका लागि गौरवपूर्व क्रान्ति थियो, जुन आज विश्वरीका महिलाहरुले उत्सवका रुपमा मानाउने गरिएको छ ।

    समाजवादी नेतृ क्लाराजेट्किनले सन् १९१० कोपन हेगनमा भएरहेको समाजवादीहरुको दोस्रो इन्टरनेश्नलको बैठकमा महिला श्रमिक दिवसलाई मार्च ८ का दिन संसारभरी मनाउने प्रस्ताव राख्नुभएको थियो । यो प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

    यो प्रस्ताव पारित हुनुपूर्व विभिन्न चरणमा समान काम, समान ज्यालालगायत महिलामाथि भएका राजनीतिक अधिकार, समानमताधिकार, श्रमिक अधिकारलगाय थुप्रै चरणका महिला आन्लोदनहरु सञ्चालन भएका छन् । आन्दोलन अगाडि बढ्दै जाँदा राजनीतिक नेतृत्वमा मार्च ८, १९०८ को दिन जर्मनीको स्टुर्ड गार्मेन्टमा समाजवादी महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरी श्रमिक महिला संघको स्थापना भयो । यो भन्दा अगाडि १८९२ बाट क्लारा जेट्किनको सम्पादनमा जर्मनीको श्रमिक महिला आन्दोलनको मुखपत्र ‘समानता’ को माध्यमबाट अन्तर्र्राष्ट्रिय रुपमै महिलाबीच सचेतना अभियानका लागि प्रेरित गर्यो । मार्च ८, १८९८ मा उचित पारिश्रमिक, निश्चित कार्य घण्टाको माग गर्दै अमेरिकाको न्युयोेर्कमा श्रमिक महिला प्रदर्शनमा उत्रिए । जसको परिणामस्वरुप श्रमिक महिला संघको स्थापना भयो । मार्च ८, १९०८ मा न्युयोर्क मै महिलाहरुले मताधिकारको अधिकार पाउनुपर्छ भनेर पुनः प्रदर्शन गरे । परिणामस्वरुप मार्च ८, १९०९ मा सिकागो सरहरका महिला व्यापक हड्ताल गर्दै जुलुस प्रदर्शनमा उत्रिए । यस्तै निरन्तरको प्रदर्शनले श्रमिकबीचको शक्ति सुदृढ बनायो ।

    त्यसैले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस केवल नारामा मात्र सिमित बन्दै आएको छ । मार्च ८ महिला मुक्तिका लागि गरिएको संघर्षको प्रतिक हो । यो महिला मुक्तिका लागि निभ्न नहुने मशाल हो । यसलाई निरन्तर थप अधिकार प्राप्तिका लडाइँका रुपमा मनाउन जरुरी छ । त्यसो गरिए मात्रै मार्च ८ मनाउनुको सार्थकता रहनेछ ।

    १९१० मा सत्र देशका श्रमिक र तत्कालिन समयका राजनीतिक महिला प्रतिनिधि फिन्ल्याण्डका पहिलो पटक निर्वाचित भएका तीन जना महिला सांसदसहित झण्डै सय जना समाजवादी महिला नेतृत्वबीच दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गरियो । त्यस सम्मेलनबाट समानताका पक्षपातिबीच ऐक्यवद्धता दिवसका रुपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउन क्लाराद्वारा राखिएको प्रस्ताव एक मतले पारित भएको थियो । १९०८ को मार्च महिनाको तारीखको आइतवारका दिन संयुक्त राज्य अमेरीकाको न्युयोर्क शहरमा गार्मेन्ट कारखानामा काम गरिरहेका थुप्रै श्रमिक महिलाहरुले विरोध प्रदर्शन गरेका थिए । त्यहाँको प्रसिद्ध चोक ‘रुजर स्क्वायर’ मा जम्मा भएका महिलाहरुलाई मताधिकारको अधिकार दिलाइयोस् । गार्मेण्टमा काम गर्ने मजदुरहरुका लागि शक्तिशाली ट्रेडयुनियन गठनको माग गरेको दिनलाई नै श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरिएको थियो । मार्च ८, १९०८ का दिनमा अमेरिकाको न्युयोर्क शहरमा भएको विरोध प्रर्दशनले विभिन्न देशका समाजवादी महिलालाई झक्झकाउने काम ग¥यो । तत्कालिन अवस्थामा अमेरिकी महिलाहरुको जुझारुपनलाई समायोजन गर्दै अधिकारको लागि महिलाहरुले सबै देशमा आन्दोलन गर्नुपर्छ भन्ने मूल मान्यताका साथ मनाउने निर्णय सम्मेलनले पारित गर्यो । जसको नेतृत्व क्लाराले गरिन् । १९११ को श्रमिक महिला दिवसको विषयमा रसियाको समाजवादी पार्टीकी प्रसिद्ध नेतृ अलेक्जेण्डर कोलान्तााईले पुरुषहरुलाई मार्च ८ को दिन आफ्ना बालबालिको स्याहार गरेर घरमै बस्न र गृहणीको रुपमा कैद उनीहरुको श्रीमतीहरुलाई मार्च ८ को सभामा पठाउन अपिल गरेकी थिइन ।

    सोभियत युनियनको सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएकी कोलोन्ताईले लेनिन समक्ष मार्च ८ का दिनलाई आधिकारीक रुपमा नै विरांगना महिला दिवसका रुपमा मनाइयोस भनी प्रस्ताव गर्नुभएकी थिइन् । त्यसपछि १९१३ देखि रुसले पनि महिला श्रमिक दिवस मनाउ सुरु गरेको थियो । 

    विश्वभरका श्रमिक महिलाहरुले आफ्नो मुक्ति आन्दोलनको रुपमा मनाउन थालेको ६५ वर्षपछि १९७५ सम्म आइपुग्दा संयुक्त राष्ट्र संघले भने अन्तराष्ट्रिय महिला वर्ष र १९७५—१९८५ सम्म लाई महिला दशक घोषणा गर्दै मार्च ८ लाई महिला अधिकार र शान्ति दिवसको रुपमा मनाउने घोषणा ग¥यो । आजसम्म पनि मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरेको छ ।

    नेपालमा माहिला दिवस

    धनकुटामा केहि महिलाले ८ मार्चलाई आईमाई दिवसका रुपमा वि.स.२०१७ सालमा मनाइएको उल्लेख गरिएको छ । जसबेला पढेलेखेका शिक्षित महिलाले यसको सुरुवात गरेको देखिन्छ । २०३३ देखि श्रमिक महिला दिवशलाई केहि मुठीभर घरानिया र दरवारीया महिलाहरुले मनाउन थाले । त्यसैगरी २०३४ मा पारीजातको संयोजकत्वमा गोप्य रुपमा प्रगतिशील महिलाहरुले अन्तराष्ट्रिय श्रमिक दिवश मनाउन थाले ।

    नेपालमा पनि ८ मार्चको गरिमा संघर्षशील विरासत बचाउन ८ मार्चलाई संघर्षकै रुपमा प्रगतिशील परिर्वतनकारी महिला शक्तिहरुले मनाएको देखिन्छ । राजनितीक परीर्वतनसँगै महिलाहरुका सवालमा भएका परिवर्तन सुखद नै छ ।

    २०४७ सालमा सरकारी तवरबाट ८ मार्च लाई महिला दिवस भन्न थालियो । तर २०४७ देखि २०५८ सम्म आउँदा ८ मार्चको कार्यक्रम सुखद हुन सकेनन् । २०५८ मा महिला आयोग गठन भए पश्चात आयोगकै आयोजना मा श्रमिक महिला दिवस मनाउन थालियो । तर त्यसपछिका वर्षहरु कहिले महिला दिवस कहिले श्रमिक महिला दिवसका रुपमा मनाएको पाइन्छ । अन्ततः २०७४ को श्रम कानुन दफा (४१) ले यस दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको रुपमा मनाउदै आइरहेको छ । नेपालमा श्रमिक महिला दिवस स्थापनाको गरिमा र औचित्य अनुरुपको श्रमिक दिवसको रुपमा मनाउन र नारा स्थापित गर्न नै झण्डै ५६ वर्ष लागेको छ । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिाला दिवस समानताको पुस्ता ः अन्त्य गरौं हिंसा, विभेद र असमानता को नारासहित आजको दिनमा मनाइदै छ ।

    महिला विद्यार्थी र ८ मार्च

    मुलतः १९१० मा समाजवादी नेतृ क्लारा जेट्किनले डेनमार्कको कोपनहेगनमा स्थापना गरेको ८ मार्च सबै क्षेत्रका उत्पीडित महिलाका लागि गैरवपूर्ण दिनमा दर्ज भएको पर्व हो । श्रमिक महिलाद्धारा संसारका अन्यायी शाषकहरुको मुटु थर्काउने गरी गरिएको संगठित आन्दोलन संसारभरीका महिलाका लागि उत्सव हो । समाजवादी नेतृ क्लोरा र रोजाले श्रमिक महिलाको पक्षमा खेलेको भूमिका युवा पुस्ताका महिलाका लागि सामान्य प्रेरणाको विषय होइन । महिला अधिकार र मुक्तिको सवालसँगै समाजवादी नेतृ क्लाराले शिक्षा क्षेत्रमा सुधारात्मक आन्दोलन गर्न विशेष जोड दिदै हासिल गरेको सफलता हेर्दा त्यतिबेला जर्मनीमा धार्मिक मत अनुसारको फरक—फरक स्कुल र विषय समावेश हुन्थे । शिक्षामा भएका क्याथोलिक र प्रोष्टेट सप्रदायको धार्मिक हस्तक्षेप अन्त्य गर्न कानुनी लडाइँमा जीत हासिल गर्न मात्र होइन, प्रारम्भिक कक्षादेखि क्याम्पस तहसम्म निशुल्क पढाइ, युनिफर्मको व्यवस्था र पुरुष र महिलाका लागि अगल—अलग विद्यालय व्यवस्थालाई खारेज गर्दै सह—शिक्षा प्रणालीको विकास गरी पुरुष र महिलाबीचको अनावश्यक खाडलको अन्त्य क्लाराको निरन्तरको खटाइको उपलब्धी थियो । क्लारा, नाजेज्दा क्रुप्सकाया, रोजा र कोलन्ताईले शिक्षा क्षेत्रमा गरेका संघर्षलाई प्रेरणाको रुपमा लिदै नेपालको सन्दर्भमा शिक्षा क्षेत्रको असमानताको खाडल भत्काउन र समाजवादी शिक्षाको जग बसाल्न शिक्षामा महिलाको पहुँच स्थापित गर्ने दायित्वप्रति बफादार बन्न सक्नु नै युवा विद्यार्थी महिला नेतृत्वका लागि श्रमिक महिला दिवस मनाउनुको सार्थकता रहन्छ ।

    अर्को विश्व विद्यालय र क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महिला विद्यार्थीको सार्थक सहभागिता बन्न सकिरहको छैन् । संविधान प्रद्धत्त लैंगिक अधिकारलेसमेत राज्यका हरेक निकायमा कार्यकारी पहिलो र दोस्रोमध्ये एक महिला हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । विडम्बना भनौं, स्थानीय सरकारमा अधिकांशतः उपप्रमुखको जिम्मेवारीमा मात्र महिलालाई सिमित गरिएको छ । स्ववियुको निर्वाचनमा भने त्यो व्यवस्था लागुसमेत हुन सकेको छैन् ।

    पञ्चायतकालिन स्ववियु नियमावली परिवर्तन गर्ने ध्यान गणतन्त्रात्मक व्यवस्था आइसक्दा पनि न त विद्यार्थी संगठनको जान सकेको छ न त्रिवि पदाधिकारीको नै । परम्परागत स्ववियु निर्वाचन महिला विद्यार्थी नेतृत्व विकासका लागि बाधक बन्दै आएको छ । यसलाई बदल्नु वर्तमान विद्यार्थी आन्दोलनको कार्यभार हो ।

    त्यसैले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस केवल नारामा मात्र सिमित बन्दै आएको छ । मार्च ८ महिला मुक्तिका लागि गरिएको संघर्षको प्रतिक हो । यो महिला मुक्तिका लागि निभ्न नहुने मशाल हो । यसलाई निरन्तर थप अधिकार प्राप्तिका लडाइँका रुपमा मनाउन जरुरी छ । त्यसो गरिए मात्रै मार्च ८ मनाउनुको सार्थकता रहनेछ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij