आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सी विचारधाराः समाजवादी आन्दोलनको नविनतम उपलब्धी

  • 111.1K
    SHARES
  • https://indrenipost.com/posts/115
    फागुन २७, २०७६ मंगलबार
    सी विचारधाराः समाजवादी आन्दोलनको नविनतम उपलब्धी


    व्यक्ति, विचार र सिद्धान्तलाई एकाकार गरेर प्रस्तुत गर्ने चलन कम्युनिष्ट आन्दोलनमा पुरानै हो । जो आज पनि चलिरहेको छ । हुन त मार्क्स आफैंले आविष्कार गरेको सिद्धान्तलाई मार्क्सवाद भनेनन् । तर उनको निधनपछि उनका सहयोद्धा तथा मार्क्सवाद आविष्कारका प्रमुख हकदार एंगेल्सले मार्क्सलाई समाधिस्थ गर्ने ठाउँमा उपस्थित एघार जना मलामीबीच सम्बोधन गरे । त्यस क्रममा उनले अतिरिक्त मूल्यको सिद्धान्त र ऐतिहासिक भौतिकवाद मार्क्सको मूल देन रहेको बताए । पछि समाजवाद विज्ञान भएको घोषणा गरे । यो विज्ञानसँग मार्क्सको नाम जोड्नु पुरै न्याय संगत हुने बताए । यसपछि मार्क्सवाद विज्ञानको रुपमा संस्थागत भयो ।

    पछि पुँजीवादको प्रतिस्पर्धात्मक अवस्थाबाट एकाधिकारी चरणमा प्रवेश गरेको अवस्थालाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद भनेर लेनिनवाद नामाकरण गरियो । जुन रसियन कम्युनिष्ट नेता भि.आई. लेनिनको नामसँग जोडिएको छ ।

    माओको जीवनकालमा पार्टी महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद माओ विचार भनेर संष्लेषण ग¥यो । माओको मृत्युपछि त्यसमा देङ सियाओपिङ सिद्धान्त थपियो । हालै चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले आफ्नो मार्गनिर्देशक सिद्धान्तमा सि जिन पिङ विचार थप गरेको छ ।

    सी जिन पिङ विचारधारा

    नयाँ युगमा नयाँ समस्या समाधान गर्ने बेलामा हामीहरुले व्यावहारिक प्रयोगमा नयाँ विचारधारा बन्दछ । सि जिन पिङ विचारधारा नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा भएको चिनियाँहरुको दाबी छ । यहाँ ‘नयाँ युग’ भन्नाले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनको प्रतिवेदनमा प्रयोग गरिएको प्रमुख शब्दावली हो । नयाँ युग केवल प्रतिवेदनमा प्रस्तुत गरिएको वैज्ञानिक निष्कर्ष मात्र होइन, महाधिवेशनको शीर्षकमा पनि लेखिएको छ । लामो समयको परिश्रमपछि चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको छ । यो हाम्रो देशको विकासको नयाँ ऐतिहासिक आयाम हो ।

    चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ युगका पाँच विशेषता रहेको बताउने गरेको छ ।

    १. भूत, वर्तमान र भविष्यको सम्बन्धबाट विचार गर्ने हो भने अहिले विगतका कार्यहरुलाई निरन्तरता दिँदै नयाँ ऐतिहासिक विशेषताका अवस्थामा चिनियाँ विशेषतायुक्त समाजको महान् विजय प्राप्त गर्ने युग हो ।

    २. हामीले बोक्दै आएको ऐतिहासिक मिसनको दृष्टिबाट हेर्ने हो भने सम्पूर्ण रुपमा मध्यमवर्गीय आययुक्त समाजको निर्माणमा निर्णायक विजय प्राप्त गर्ने तथा चौतर्फीरुपमा समाजवादी आधुनिक शक्तिशाली देश निर्माण गर्ने युग हो ।

    ३. चिनियाँ जनताको सुन्दर जीवनयापनको चाहनाबाट हेर्ने हो भने यो सम्पूर्ण देशको सबै जातिका जनताबाट एकतावद्ध भई संघर्ष गर्ने, अटुुटरुपमा सुन्दर जीवनको सिर्जना गर्ने, क्रमिक रुपमा समग्र जनताको एकसाथ समृद्धि प्राप्त गर्ने युग हो ।

    ४. जातीय पुनर्जागरणको दृष्टिबाट हेर्दा यो सम्पूर्ण चिनियाँ दाजुभाइ दिदीबहिनीहरु एकतावद्ध भई चिनियाँ जातीको महान् पुनर्जागरणको चिनियाँ सपनालाई साकार पार्ने युग हो ।

    ५. चीनलाई विश्व राजनीतिमा राखिहेर्दा हाम्रो देश हरेक दिन विश्व रंगमञ्चको केन्द्रतिर सर्दै सम्पूर्ण मानव जातिका लागि अझै बढी, ठूलो योगदान पुर्‍याउने युग हो ।

    प्रमुख अन्तर्विरोध

     सी जिन पिङले पनि माओले जस्तै मुख्य अन्तरविरोध र सहायक अन्तरविरोध गरेर समाजको विश्लेषण गरेका छन् । उनका अनुसार चिनियाँ समाजवाद प्रारम्भिक चरणमा छ । लामो समय सोही चरण रहिरहने छ । माओले भनेझै समाजवाद निर्माण दीर्घकालीन र कष्ट साध्य हुने तर्कलाई नै जोड गरिरहेका छन् ।

     सी जिन पिङ विचारधारालाई १९ औं महाधिवेशनको प्रतिवेदनले पाँच पक्षबाट व्याख्या गरेको छ ।

    पहिलोः यस विचारधारालाई मार्क्सवाद लेनिनवाद माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधित्वको महत्त्वपूर्ण विचारधारा र विकाससम्बन्धी वैज्ञानिक दृष्टिकोणको निरन्तरता र विकास हो ।

    दोस्रोः यो विचारधारा मार्क्सवादको चिनियाँकरणको नवीनतम उपलब्धि हो ।

    तेस्रोः यो विचारधारा पार्टी र जनताको व्यवहारिक प्रयोगको अनुभव एवं सामुहिक ज्ञानको फल हो ।

    चौथोः यो चिनियाँ विशेषतायुक्त समाजवादी सैद्धान्तिक विचारधाराको महत्त्वपूर्ण अंश हो ।

    पाँचौंः यो सम्पूर्ण पार्टी र चिनियाँ जनताको महान् पुनर्जागरणका लागि गरिने संघर्षको कार्ययोजना हो । कार्ययोजनालाई नै हाम्रो पार्टीको इतिहासमा निर्देशक सिद्धान्त भनिन्छ ।

    उनीहरुले यसलाई २१ औं शताब्दीको मार्क्सवाद भनेर परिभाषित गरेका छन् । दुईवटा मुख्य कार्यभार रहेको उल्लेख गरेका छन् । पहिलोे मध्यमवर्गीय आययुक्त समाजको निमार्णमा निर्णायक विजय प्राप्त गर्नु, दोस्रो, समाजवादी आधुनिक देशको चौतर्फी निर्माणको विजय यात्रा प्रारम्भ गर्नु । उनीहरुको बृहत् कार्ययोजनाको सार आफ्नो खुट्टामा उभिने, धनी हुने र शक्तिशाली बन्ने रहेको छ ।

    समाजवादको पाँच पक्ष

    चिनियाँहरुले समाजवादको पाँच पक्षमा जोड दिएका छन् । ९क० समाजवादी बजार अर्थतन्त्र, ९ख० समाजवादी प्रजातान्त्रीक राजनीतिक व्यवस्था, ९ग० समाजवादी विकसित संस्कृति, ९घ० समाजवादी सामाञ्जस्यपूर्ण समाज र ९ङ० समाजवादी पर्यावरणीय सभ्यताको निमार्णलाई जोड दिएका छन् ।

    यस्तै, हरेक चिनियाँहरुसँग पाँच प्रकारको मनस्थिति हुनु पर्नेमा जोड दिएका छन् । पहिलोः प्रारम्भिक उद्देश्य नबिर्सने, मिसनलाई सम्झिराख्ने । दोस्रोः चार आत्माविश्वासको मनस्थिति । राजनीतिक बाटोको आत्मा विश्वास, राजनीतिक सिद्धान्तको आत्मा विश्वास, राजनीतिक व्यवस्थाको आत्माविश्वास तथा सांस्कृतिक आत्मा विश्वासलाई सुदृढ बनाउँदँ लैजानुपर्ने । तेस्रोः कहिले पनि नथाक्ने मनस्थिति । चौथोः दृढ एवं अडिग, पूर्णता प्राप्त नभई नत्याग्ने मनस्थिति । पाँचौंः सुख तथा संकटको विचार गर्ने, नवीन रचना गर्ने मनस्थिति ।

    यसरी नै चिनियाँ जातिको महान् पुनर्जागरण, महान् सपना, महान् परियोजना, र महान् कार्य भनेका छन् । नयाँ युग, नयाँ मिसन, नयाँ विचार, नयाँ विजययात्रालाई पनि महत्त्व दिइएको छ ।

    सय वर्षे लक्ष्य

    पहिलो सय वर्षीय लक्ष्य १९२१ देखि २०१९ हो । कम्युनिष्ट स्थापनाको सय वर्ष पुगेको अवसरमा प्राप्त गरिने लक्ष्य सम्पूर्ण रुपमा मध्यमवर्गाीय आययुक्त समाजको निर्माण भएको मानिएको छ । दोस्रो सय वर्षे लक्ष्य १९४९ देखि २०४९ सम्म हो । यस अवधिमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य छ ।

    झण्डाको महत्त्व

    चिनियाँहरुले झण्डालाई विशेष महत्त्व दिएका छन् । समाजवादको प्रतीकको रुपमा यसलाई लिएका छन् । उनीहरुले झण्डा दिशाको द्योतक, स्वरुपको प्रतिक, शक्तिलाई एकीकृत गर्ने विश्वास लिएका छन् । राजनीतिक पार्टी, देश, जातिले सही झण्डालाई उत्तोलन गरेपछि मात्र सम्पूर्ण पार्टी र सम्पूर्ण जनताहरु यस झण्डामुुनि एकीकृत भई व्यवस्थित रुपमा अघि बढ्न सक्ने मानिएको छ ।

    चिनियाँ विशेषतायुक्त समाजवाद चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता एकतावद्ध हुने झण्डा हो । मिहनेत गरी अघि बढ्ने, विजय र आधुनिक चीनको विकास प्रतीकको रुपमा पनि झण्डालाई लिइएको छ ।

    सबैभन्दा ठूलो सैद्धान्तिक उपलब्धि

    पार्टीको १९औं महाधिवेशको सबैभन्दा ठूलो उपलब्धि पार्टीको झण्डामा सि जिन पिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा लेखिनु र त्यसलाई लामो अवधिका लागि पार्टीले अवलम्बन गर्ने निर्देशक विचारधाराको रुपमा स्थापित गर्नु हो । यसरी पार्टीको निर्देशक विचारधारामा फेरि एकपटक परिवर्तन ल्याइएको छ ।

    सि जिन पिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा एक विशाल तथा गहन वैज्ञानिक सिद्धान्त हो । आलोचकले भने जस्तो चिनियाँ विशेषताको पुँजीवाद हो भन्ने मतलाई व्यवहारिक रुपमै खण्डन गर्ने अभिभारा उनले सम्पन्न गर्नेछन् । अपेक्षा गरौं ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij