विराटनगर । अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी प्रदेश १ मा २३ जनाको मृत्यु भएको छ । मंगलबार आएको अविरल वर्षापछिको बाढी तथा पहिरोले इलाममा ८, पाँचथरमा ६, सुनसरीमा २, धनकुटामा ६ र उदयपुरमा १ को मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बाढी(पहिरोमा परी धनकुटामा ५ जना, इलाममा ५ जना गरी १० जना बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार बाढीमा परेर सयौँ घर डुबानमा परेका छन् । डुबानमा परेका घरको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोमा फसेकाहरुको उद्धार कार्य जारी छ । क्षतिबारे प्रारम्भिक सूचना आए पनि पूर्ण रुपमा आइनसकेको एसपी राईले बताए ।
बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । विमानस्थलमा बाढी पस्दा काठमाडौँ जाने र विराटनगर आउने यात्रु विमानस्थलमै अलपत्र परेका छन् । यसअघि दुई वर्षअघि पनि बाढीले विराटनगर विमानस्थल डुबानमा परेको थियो ।