काठमाडौं । सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो ।
डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विक र सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोरायल गाउँपालिका–४ सयगडामा शेरबहादुर विकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन विक, १२ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर पुरिँदा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको छ । उनकी घाइते अवस्थामा रहेकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको हो ।
यस्तै, पहिरोसँगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार रातिको पहिरोले घर पुरिँदा सायल गाउँपालिका ६ का वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो ।
बैतडीमा ७१ वर्षीया परुदेवी महरा, २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की, ३ वर्षीय देवन पार्कीको पहिरोमा परी मृत्यु भएको हो ।
डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थी र ६५ वर्षीय नरपता शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।