वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल पर्साको वीरगंजस्थित पार्टी कार्यालय खाली गराउन प्रशासनमा उजूरी परेको छ ।
बारा, प्रसौनी गाउँपालिका–३ निवासी घरधनी वैद्यनाथप्रसाद साहले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराउँदै पार्टी कार्यालय खाली गराउन माग गरेका हुन् ।
विगत ४३ महिनादेखि घरभाडा दिने पार्टीका जिल्लास्तरीय नेताले आलटाल गर्दै आएको र पटक–पटक ताकेदा गर्दा पनि कुनै सुनवाइ नभएकोले प्रशासनमा उजूरी दिएको साहले बताए ।
उनका अनुसार वीरगंज–१२ सुरेश आयलछेउमा भएको घरको पहिलो तलामा उक्त पार्टीले भाडामा फ्ल्याट लिएर पार्टी कार्यालयको सञ्चालन गर्दै आएको छ ।
उनले मासिक ८ हजार रुपैयाँको दरले ४३ महिनाको ३ लाख ४४ हजार रुपैयाँ असूल गराइ दिन पर्साका सहाहक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलसमक्ष अनुरोधसमेत गरेका छन् ।