काठमाडौं । सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रदेश प्रमुखमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । जसअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेस, कर्णालीमा नेकपा (माओवादी केन्द्र) र प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।
सरकारले प्रदेश १ बाट एमालेका तत्कालीन नेता समेत रहेका सोमनाथ अधिकारी प्यासीलाई हटाएको हो । त्यस्तै कर्णालीबाट गोविन्द प्रसाद कलौनीलाई हटाइएको हो ।
सुदूरपश्चिमबाट गंगाप्रसाद यादवलाई बिदा गरिएको छ । यी तीनैजनालाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको थियो ।
कर्णाली प्रदेश प्रमुखमा सिफारिस भएका परियार यसअघि प्रदेश २ प्रमुख थिए । माओवादी केन्द्रनिकट उनलाई यसअघि ओली सरकारले बर्खास्त गरेर राजेश अहिराजलाई नियुक्त गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रमुख बनाइएका जोशी कांग्रेस बाजुराका पूर्वसभापति तथा संविधानसभा सदस्य हुन् । कर्णालीमा प्रदेश प्रमुख बनाइएका परियार यसअघि प्रदेश २ का प्रदेश प्रमुख भइसकेका माओवादी केन्द्रनिकट मानिन्छन् ।
प्रदेश १ मा प्रमुख बनाइएका खापुङ एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य हुन् । सरकारले यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि परिवर्तन गरेको थियो ।