काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वमा पनि परेको छ । प्रदेश १ मा मंगलबार बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन् ।
मंगलबार बिहानै लामो दुरीबाट आएका सबारी साधन गन्तव्यमा पुगेका भए पनि छोटो दुरीका सबारी साधन बिहानैदेखि चल्न नसकेका प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
‘बिहानैदेखि स्थानीय रुटका सार्वजनिक सबारी साधन चलेका छैनन्,’ तिम्सिनाले भने, ‘प्रदेश १ बाट बाहिर जाने लामो दुरीका सबारी साधनसमेत चलेका छैनन् । निजी सवारी भने फाट्टफुट्ट रुपमा चलिरहेका छन् ।
समग्रमा अहिले अन्य दिनको तुलनामा १० प्रतिशत यातायातका साधन अहिले सडकमा गुडेको देखिन्छ ।’
यसैबीच उदयपुरको गाईघाटमा सबारी साधन बन्दको आह्वान गर्दै सडकमा निस्किएका विप्लव कार्यकर्तालाई प्रहरीले तितरभितर पारेको छ ।
बन्दको क्रममा अहिलेसम्म प्रदेश १ मा कुनै अप्रिय घटना भने नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।