विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् ।
पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त भएका राईले विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले आज विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १(१ जना प्रदेश सांसद छन् ।
एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँचदलीय गठबन्धनको ५० जना सांसद छन् ।