विराटनगर । बन्दका कारण हिजो स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् ।
हिजो नै राईले विश्वासको मत लिने तयारी थियो । तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो ।
एमालेको मागअनुसार हिजो विश्वासको मत लिने प्रकृया विथोलिएकाले आजका लागि बैठक सारिएको हो ।
मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे ११ बजेका लागि डाकिएको थियो ।
गत कात्तिक १६ गते राईले मुख्यमन्त्रीमा शपथ लिएका थिए । भीम आचार्यले पदबाट राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । राईले आज विश्वासको मत पाउँदैछन्। प्रदेश नम्बर १ का उनी तेस्रो मुख्यमन्त्री हुन् ।