कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा नेकपा (एमाले)को समानान्तर कमिटी गठन गरिएको छ । किशोर लिम्बुको अध्यक्षतामा आइतबार समानान्तर कमिटी गठन गरिएको हो ।
समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन् ।
एमालेको जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो । जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएको थियो ।
धनाडीको नेतृत्वमा रहेको कमिटीका सचिव लिम्बुको समानान्तर कमिटीमा समेत सचिवका रुपमा रहेका छन् । धनाडीको नेतृत्वमा रहेको कमिटी स्वीकार्य नरहेको भन्दै लिम्बुले समानान्तरण कमिटी गठन गरेका छन् ।
जिल्ला नेतृत्वको विभेदकारी निर्णय विरुद्ध कमिटी घोषणा गरिएको लिम्बुको भनाई रहेको छ । लिम्बु दोधारा चाँदनीका एमालेका पुराना नेताका रुपमा परिचित छन् ।
उनी डेढ दशक देखि पार्टीको नगर नेतृत्व सम्हाल्दै आएका थिए । सय जना भन्दा बढी कार्यकर्ताको उपस्थितिमा कमिटी गठन गरिएको र जिल्ला कमिटीले घोषणा गरेको कमिटीका ३९ जना आफुले गठन गरेको कमिटीमा फर्किएको लिम्बुको दावी रहेको छ ।