सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।
दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए ।
हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ । हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन् ।
पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित हुन नसकेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको आज २९ औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । हाल सत्तारुढ गठबन्धनसँग २३ मत छ ।