काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको काँग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई लिइएको छ ।
महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना बनाइरहेको छ । प्रहरी उपरीक्षक ९एसपी० दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।
त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।
स्वयंसेवक व्यवस्थापन समिति संयोजक नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाले भूतपूर्व सैनिक सङ्घको नेतृत्व स्वयंसेवक खटिने बताए । उनका अनुसार १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयंसेवकका रूपमा महाधिवेशन स्थलमा खटिने छ ।
उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिका संयोजक काठमाडौं जिल्लाका सभापति सबुज बानियाँ सुरक्षा र मञ्च व्यवस्थापन काम अन्तिम चरणमा पुगेको बताए ।