काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र इतर समूह आआफ्ना उम्मेदवारी तय गर्न सक्रिय भएका छन् । उम्मेदवारको नाम निश्चित गर्न आज (बुधबार) लगभग एकै समय दुवै पक्षले आआफ्ना बैठक राख्दै छन् ।
जसअनुसार प्रधानमन्त्रीसमेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले बिहान ९ बजे आफ्नै निजी निवास (बूढानीलकण्ठ)मा आफूपक्षीय नेताहरूको बैठक राख्दै छन् भने संस्थापन इतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आफ्ना तर्फबाट सभापति पदको साझा उम्मेदवार तय गर्न साढे ९ बजे बत्तीसपुतलीस्थित फुडल्यान्डमा आफूपक्षीय बैठक राख्दै छ ।