झापा । नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ ।
क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो चार महिनामा ५ करोड १५ लाख २५ हजार रुपैयाँबराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात भएको हो । गत वर्ष सोही अवधिमा ४ करोड ५१ लाख ९४ हजार रुपैयाँ बराबरको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।
भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले बताए । गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको उनले जानकारी दिए ।
नेपाल २० वर्षअघि सम्म कोदोमा आत्मनिर्भर रहेको थियो । कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए ।
नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको उनले बताए । विशेषगरी रक्सी बनाउनका लागि कोदो आयात हुने गरेको उनले बताए ।