काठमाडौँ, २५ साउन — मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने संभावना छ ।
यससँगै कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकीका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।