कास्की, २५ साउनः पोखरामा प्रहरीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र र पश्चिम बङ्गालका बासिन्दा रहेका उनीहरूलाई विभिन्न स्थानमा बस्दै आएको अवस्थामा पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो ।
पक्राउ परेकाबाट नगद रु ५ लाख १४ हजार र ४४४ तोला चाँदी समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिएका छन । पोखरा महानगरपालिका २, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो ।
पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् । बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड १ लाख रहेको प्रहरीले जनाएको छ ।
बरामद सुन, चाँदी र नगद सहित पक्राउ परेकालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने भएको छ ।