काठमाडौँ, २५ साउनः गत वैशाखदेखि साउन २४ गतेसम्म मुलुकभर दुई हजार छ सय ७५ विपद्का घटना दर्ता भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका कारण ११७ जनाको ज्यान गएको छ भने ५६४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा मात्र बाढीजन्य १९८ घटना भएका छन् । बाढीबाट १६ जनाको मृत्यु, २१ जना बेपत्ता र १,३१३ घरपरिवार प्रभावित भएका छन् ।
यस्तै, पहिरोका २८१ घटनामा १३ जनाको मृत्यु र १७ जना घाइते भएका छन् । भारी वर्षाका १७४, चट्याङका २४४, सर्पदंशका ७४, आगलागीका १,०६६, वन डढेलोका १५८, हावाहुरीका २७६, जनावर आक्रमणका १५३, लेक लागेर ४१ र भूकम्पका पाँच घटना भएको प्राधिकरणले जनाएको छ ।
मात्र साउन २४ गतेमै ३५ विपद्का घटना दर्ता भएका छन् । तीमध्ये १३ पहिरो, चार आगलागी, एक बाढी, पाँच अविरल वर्षा, एक चट्याङ, दुई लेक लागेको र एक जनावर आक्रमणका घटना छन् । यी घटनामा ६ जना घाइते भएका छन् ।