काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनयुद्धकालमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।
एमाले अध्यक्ष ओलीले युद्धकालमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेका थिए भनेर सार्वजनिक कार्यक्रममा बोलेको भोलिपल्ट बिहीबार बिहान विज्ञप्ति जारी गरी प्रचण्डले उनलाई उक्त आरोप प्रमाणित गर्न अन्यथा जनतासामु माफी माग्न चुनौती दिएका हुन् ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्’, प्रचण्डले वक्तव्यमा भनेका छन्, ‘म केपी ओलीलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’