सप्तरी । सप्तरीमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ ।
छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो ।
बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हत्याराको पहिचान नभएको र कारण पनि नखुलेको स्थानीय शुभनारायण यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै भएको देखिन्छ, थप अनुसन्धान सुरु गरेका छौँ’, उनले भने ।
यसअघि गएको मंसिर ८ गते पनि छिन्नमस्ता ६ मा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो ।