बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

हिउँ पर्‍यो, पढाइ रोकियो : परीक्षा पनि लिन भ्याएनन् धेरैले


  • 5.0K
    SHARES
  • https://indrenipost.com/posts/2654
    पुष १२, २०७८ सोमबार
    हिउँ पर्‍यो, पढाइ रोकियो : परीक्षा पनि लिन भ्याएनन् धेरैले

    मनाङ । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाटै हिमाली जिल्ला मनाङमा हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको हो ।

    चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यस समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो ।

    तर यस वर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे। यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

    ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए । 'हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं,' उनले भने ।

    हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । 'कोरोना सङ्क्रमणले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुपर्‍यो। गत वर्ष चैतबाट सुरु हुन्थ्यो,' उनले भने, 'कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्‍यो ।'

    आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए । ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताए। पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ ।

    'मङ्सिर १७/१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्‍यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं,' उनले भने ।

    उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् । 'हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ,' उनले भने ।

    स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरे पनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उनले बताए । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् ।

    नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, 'गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।' उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्द छ ।

    सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए । गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । 'कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउँदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,' प्रधानाध्यापक कोइरालाले भने, 'बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुपर्‍यो ।'

    उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिवारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । 'तीन महिना जति पढाए पनि परीक्षा भने अर्ध वार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं,' उनले भने ।

    उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । 'केही हुन्छ कि भनेर अलि अलि ढिला गर्‍यौं । तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचेर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा गर्‍यौं,' उनले भने ।

    चामे गाउँपालिका शिक्षा तथा खेलकूद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए । 'हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौं । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनुपर्ने हुन्छ,' उनले भने ।

    नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए । उनले भने, 'जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं ।' उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

    शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका गरिएको बताए । चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले जानकारी दिए । 'हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ,' उनले भने ।

    शिक्षा नियमावली अनुसार ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्था अनुसार बिदा बढाइएको छ । तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत् निर्णय गर्ने गरेका छन् ।

    मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने/जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij