राजविराज सप्तरी, २१ साउनः प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनापछि आज राजविराजमा दिनभर प्रदर्शन जारी रह्यो । मृतक लालु यादवप्रति न्यायको माग गर्दै स्थानीय बासिन्दा तथा आफन्तजनले जिल्ला प्रहरी कार्यालय अगाडि बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन थालेका थिए ।
प्रदर्शनकारीहरूले राजविराजको प्रमुख व्यापारिक केन्द्र दशन् चोकमा समेत टायर बालेर सडक अवरुद्ध बनाएपछि सम्पूर्ण बजार क्षेत्र ठप्प भयो । तनावपूर्ण स्थिति कायमै रहेकाले दिनभर सुरक्षा ब्यवश्था कडा बनाइएको थियो ।
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु प्रहरीको गोली लागेर भएको हो । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गामुडा गरेपछि आत्मरक्षार्थ गोली चलाउनु परेको थियो । गोली लागेर गम्भीर घाइते भएका यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
मृतक यादव सोही गाउँको आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । उनका आफन्त तथा स्थानीयवासीहरूले उनलाई योजनाबद्ध रूपमा गोली हानिएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रहरी स्रोतका अनुसार उक्त क्षेत्रमा मदिरा तस्करी नियन्त्रण गर्न नियमित ‘सर्च अपरेसन’ चलाइँदै आएको छ । हालैको अपरेसनबाट झण्डै १६ लाख रुपैयाँ बराबरको मदिराजन्य पदार्थ बरामद गरिएको बताइएको छ ।