दमौली तनहुँ, २१ साउन — भानु नगरपालिका–२ भकुन्थोकबाट सोमबारदेखि बेपत्ता रहेका तीन किशोरी अन्ततः परिवारको सम्पर्कमा आएका छन् । १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार सोमबार बिहान विद्यालय जाने भनेर घरबाट निस्किए पनि विद्यालय नगई सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार किशोरीहरुले आफूहरुलाई खोज्न आवश्यक नरहेको भन्दै परिवारसँग सम्पर्क गरेका छन् ।
उनीहरु सोमबार साँझसम्म पनि सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको थियो ।
त्यस्तै, भानु नगरपालिका –४ राना गाउँबाट मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका पनि सुरक्षित रूपमा भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र तीन वर्षीया कञ्चन घर्ती काँक्रो चोरेको निहुँमा आमाले गाली गरेपछि रिसले विद्यालय नगई गाउँमै लुकेका थिए । प्रहरीले राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो ।
स्थानीय बासिन्दाको सक्रियतामा उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।