काठमाडौं । सत्ता गठबन्धनका राजनीतिक दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान साढे ९ बजेदेखि सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ।आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदै छन् ।
राष्ट्रपतिबाट मनोनित हुने एक सिटबाहेक १९ सिटका लागि आगामी माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
आगामी माघ १२ गते राष्ट्रिय सभाको १९ सदस्य पदका लागि मतदान निर्वाचन हुँदै छ । आगामी मंगलबार उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले गठबन्धनको बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।