काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पुस ११ देखि १८ गते सम्म सम्पन्न ८ औं महाधिवेशनले कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्ने प्रस्ताव पारित गरेको छ ।
महाधिवेशनले पारित गरेको ४५ बुँदे समसामयिक प्रस्तावको दोस्रो बुँदामा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय उल्लेख गर्दै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै, महाधिवेशनले सन् १९५० को सन्धि लगायतका सबै असमान सन्धि-सम्झौताहरू खारेजी र सार्वभौमिक समानता र आपसी हितका आधारमा आवश्यकता अनुसार नयाँ सन्धि-सम्झौताका लागि आवश्यक पहलकदमी लिन नेपाल सरकार, देशका सबै राजनीतिक दलहरू र सरोकारवालालाई यो महाधिवेशन विशेष अपील गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
माओवादी केन्द्रको महाधिवेशनले कञ्चनपुरका गोविन्द गौतम र दार्चुलाका जयसिंह धामीका दोसीलाई कारवाही गर्नसमेत माग गरेको छ ।
‘नेपालको सीमा रक्षार्थ शहीद भएका कंचनपुरका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटेपछि वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामीप्रति उच्च सम्मान व्यक्त गर्दै घटनामा संलग्नलाई कारवाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ, ‘साथै कञ्चनपुर, कैलालीलगायत नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीको बिरोध गर्दछ ।
सुस्ता,महेशपुर लगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबिचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग माग गर्दछ ।‘
महाधिवेशनले पारित गरेको प्रस्तावमा एमसीसीलाई समेत समावेश गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दस्तावेजमा समावेश नभएको भन्दै प्रतनिधिहरूले आलोचना गरेका थिए ।
महाधिवेशनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा पारित हुन नसक्ने प्रस्ताव समेत पारित भएको छ ।
‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ पारित प्रस्तावमा भनिएको छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।'