काठमाडौं । पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइएको छ ।
आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का भएको छ ।
तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन् ।
मन्त्रिपरिषद् बैठकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक गरे पनि मन्त्रालय फुटाउने निर्णय लुकाएका थिए ।
मन्त्रिपरिषद्ले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निर्णय लिएको हो ।
मन्त्रालय फुटाएसँगै अबको केही दिनमै मन्त्रिपरिषद् विस्तार तयारी गरिएको छ । मुख्यमन्त्री राजेन्द्र राईले अब मन्त्रिपरिषद् विस्तार तयारी गरेका हुन् ।
मन्त्रिपरिषदले नियमावली संशोधन गरेपछि अब प्रदेशमा १ मा ५ वटा मन्त्रालय थपिएर १२ हुनेछन् ।
अहिले प्रदेश १ मा मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय छन् । अब मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय हुने पक्का भएको छ ।