काठमाडौं । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तामेलका विषयमा छलफल सुरु भएको छ ।
लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा दुई पार्टीबीच स्थानीय तहमा चुनावी तालमेल गर्नेबारेको अजेण्डाले प्रवेश पाएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि लोसपालाई उनले सरकारमै सहभागी हुन आग्रहसमेत गरेका थिए । तर लोसपाले आफूहरुले उठाएको माग र मुद्दाको सम्बोधन नभएसम्म सरकारमा नजाने भन्दै अडान लिएका थिए ।
स्थानीय चुनाव वैशाख ३० गतेका लागि घोषणा भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच तालमेलका विषयमा कुराकानी भएको लोसपाका नेता इकबाल मिँयाले बताए ।
‘हामीले प्रधानमन्त्री ज्यूलाई विश्वासको मत दिएका थियौं । त्यसपछि सरकारमा आउन प्रधानमन्त्री ज्यूले आग्रह गरी रहनुभएको थियो । हामीले माग सम्बोधन नहुँदासम्म सरकारमा नजाने अडान लियौं’ मिँयाले नेपाल लाइभसँग भने, ‘स्थानीय चुनाव हुने भएपछि चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । तर, कुनै निर्णय भएको छैन ।’
देउवा र ठाकुरबीच चुनावी तालमेलका विषयमा छलफलका लागि तीन पटक भेटघाट भइसकेको मिँयाले बताए ।