सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको डडेल्धुरामा स्वागत गरिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका दलहरूको बैठकले निर्णयको स्वागत गरेका हुन् ।
आइतबार जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष तुलाराम बोहराले जानकारी दिए ।
यसका साथै सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका छन् ।
निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय गरिएको अध्यक्ष बोहराले बताए ।