बैतडी । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो ।
दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा डेंगुको संक्रमण देखिएको छ । उनले भने, ‘अरु महिनामा फाट्टफुट्ट देखिने डेंगु अगस्तमा भने ह्वात्तै बढेको छ ।’
पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा प्रदेशमा छ सय ८० जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ । सम्पर्क व्यक्ति जोशीका अनुसार जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाइमा ५८ र अगस्तमा तीन सय ५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगु संक्रमण देखिएको छ ।
यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ‘संक्रमणका कारण यस वर्ष सुदूरपश्चिममा कोहीले पनि ज्यान गुमाउनु परेको छैन । गत वर्ष प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो’, सम्पर्क व्यक्ति जोशीले भने ।
अरु महिनाभन्दा अगस्तमा डेंगु संक्रमितको संख्या अधिक बढेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र वर्षात्को समय भएकाले बिरामीको संख्या बढेको हो ।
उनले भने, ‘तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ । यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ ।’