आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार

कोशी प्रदेशसभा बैठक : विषयगत समितिमा सदस्यहरू मनोनयन


  • 874
    SHARES
  • https://indrenipost.com/posts/5076
    कात्तिक २२, २०८० बुधबार
    कोशी प्रदेशसभा बैठक : विषयगत समितिमा सदस्यहरू मनोनयन

    विराटनगर । कोशी प्रदेशसभाको आजकोे बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । 

    प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम (३९१) बमोजिम सो विधेयक बिनाविभागीय मन्त्री शमशेर राईले सदनमा विचार गरियोस्  भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

    उक्त विधेयकलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ पेस गर्दा सर्वसम्मत पारित गरिएकाले सैद्धान्तिक छलफलले निरन्तरता पाएको हो ।

    सैद्धान्तिक छलफल शुरू हुनुआगाडि कोशी प्रदेशसभा सदस्य विदुरकमार लिंथेमले विधेयकलाई सैद्धान्तिक छलफलमा लैजानुभन्दा पहिले विषयगत समितिमा छलफल एवं बहस गराउनुपर्ने मागसहित नियमापत्ति गरेका थिए । 

    त्यसपछि प्रारम्भ भएको छलफलमा प्रदेशसभा सदस्यहरू प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, गीता तिमल्सेना, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत, पाँचकर्ण राई र जयप्रकाश चौधरीले सुशासन, स्थानीय प्रशासन र सेवासँग जोडिएको यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमै छलफल हुनुपर्नेमा जोड दिए । 

    उनीहरूले जनतालाई सुशासन दिन, समायोजन भएर आउने कर्मचारीको मनोबल बढाउन र कर्मचारीलाई सेवामा समर्पित रहन विधेयक त्रुटीरहित हुनुपर्ने सुझाव दिएका थिए । 

    शून्य समय

    यसअघि प्रारम्भ भएको शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । 
    यसरी बोल्नेहरूमा अम्बरबहादुर विष्ट, इन्दिरा थापा, गोपाल रिजाल, इस्राईल मन्सुरी, गोम्बू शेर्पा डोल्मा तामाङ, नारायणबहादुर मगर, रोहितबहादुर कार्की र होमबहादुर थापा थिए । 

    विषयगत समितिमा सदस्यहरू मनोनयन

    यसैबीच उपसभामुख दनुवारले दस महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरूको नाम सार्वजनिक गरे । 

    न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३, सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको थियोे ।

    प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १३३ बमोजिम ती  समितिमा सदस्यहरुलाई मनोनयन गरिएको हो । प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार बिहान  ११ बजे बस्ने छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij