चितवन । चितवनको भरतपुर महानगरपालिकाले ‘विद्यार्थीसँग मेयर कार्यक्रम’को शुभारम्भ गरेको छ ।
महानगरपालिका–२७ स्थित जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो ।
महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् ।
विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्ट भए नभएको पहिचान गर्न कार्यक्रम सुरु गरिएको हो ।
यस आर्थिक वर्षमा केही नमूना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवं संवाद गरिने छ ।
कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने महानगरपालिकाका प्रमुख दाहालले बताइन् ।
विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको उनले जानकारी दिइन् ।