काठमाडौं । सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।
याे खाेप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ । भारतीय सेरम इस्टिच्युटले उत्पादन गरेको उक्त खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा उपलब्ध भएको उनले बताए ।
सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ ।
भारतसँग सिमा जोडिएका तथा दादुरा-रुबेलाको अति सङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिसम्मका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।
बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ छ ।
सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिमरुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ ।
सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो ।