मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6463
    माघ २५, २०८० बिहीबार
    द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

    तुलसीपुुर । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।

    यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ । आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म सोही विद्यालयमा पढे ।

    “बुबा सहिद भएपछि टुहुरो भएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाए । यसपछि सहिद स्कुलमा कक्षा ९ देखि पढ्न आए । “मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने दिदीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ”, उनले भने, “मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।”

    यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उहाँले बताए । शिक्षकलाई बुबाजस्तै, खाना पकाउने दिदीलाई आमा, बुबाजस्तै र त्यहाँ पढ्ने विद्यार्थीलाई दाजुभाइजस्तै लाग्ने गरेको उनले बताए ।

    “बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र ?”, उनले भने, “तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महसुस भएको छ ।”

    यहाँ सबै सहिद, बेपत्ता, घाइतेका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उनले बताए । त्यस्तै सोही विद्यालयमा द्वन्द्वपीडित अञ्जना दहितले पनि १२ पढी सके । उनले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थीबीच भावना साटासाट हुने गरेको बताए ।

    “पढाइ त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ”, उनले भने, “सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।”

    कोही सहिद परिवारका छन्, कोही बेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका छन् । उनीहरु, हामीहरुबीच कुरा हुँदा मन हल्का हुन्छ । भावना साटासाट हुन्छ, यसले हामीलाई सुखद् अनुभूति गराउँछ ।

    उनका बुबाले तीन÷चार वर्ष जनयुद्धका क्रममा जेल जीवन बिताएका थिए । उनीहरु जस्तै अहिले विद्यालयमा छ सय ४५ द्वन्द्वपीडित आवासीय विद्यार्थी अध्ययनरत हुन् ।

    विद्यालयमा शिशुकक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विसं २०६६ मा जनकल्यान मावि दुधराससँग सहकार्य गरी उक्त विद्यालय सञ्चालनमा आएको हो ।

    सोही विद्यालयमा आवासिय र शैक्षिक कार्यक्रमका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक धनेश्वर पोख्रेलले बताए ।

    विसं २०७७ देखि सोही विद्यालयमा सिटिइभिटीअन्तर्गत तीन वर्षे सिभिल इन्जिनियरिङ पनि पढाइ भइरहेको छ ।

    “विद्यालयको प्रकृति द्वन्द्वपीडित शिक्षा कार्यक्रमअन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा स्पस्ट प्रमाणसहितका विद्यार्थी आउनेक्रम घट्दो छ”, उनले भने, “कक्षा ८ देखि तल्लो कक्षामा द्वन्द्वपीडितका छोराछोरीभन्दा तेस्रो पिँढीका नाति, नातिना बढी सक्रिय रहेको देखिन्छ ।”

    कक्षा ८ देखिमाथि मात्रै नीतिगतरुपमा प्रमाणित द्वन्द्वपीडितका छोराछोरी रहेको जनाउँदै यो अवस्थाले आगामी दिनमा सहिद स्मृति विद्यालयमा कस्ता विद्यार्थीलाई भर्ना गरी सञ्चालन गर्र्ने भन्ने कुरा चुनौती रहेको उनले बताए । 

    साथै विद्यालयमा २१ जना शिक्षकसहित स्वास्थ्यकर्मी एक जना, लेखापाल एक जना, लाइब्रेरियन एक, कार्यालय सहयोगी दुई, सुरक्षागार्ड एक, मेस कर्मचारी चार जना, सरसफाइ एक जना कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै चारवटा तीन तले भवन छन्, भने चारवटा दुई तले भवन छन् । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij