काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको छ ।
उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो । सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो ।
सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तरवार्ता हुनेछ । जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ ।
दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ ।
विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो । अन्तरवार्ताको समय २० मिनेट हुने समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारी जानकारी दिए ।