काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक पाँच बजेका लागि सारिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा अन्तिम समयमा बैठक दुई घण्टा पछि सारिएको हो ।
अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मतमा मतदान हुनुअघि आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका छन् ।
सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य रहेका छन् ।
बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ । अहिलेसम्म शाहलाई कांग्रेसका १८ जनाको समर्थन छ भने पार्टीमा विवाद भए पनि नाउपा सरकारमा सहभागी छ ।
नाउपाबाट दुईथरी ह्वीप जारी भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छिन् भने संसदीय दलका नेताले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।