नवलपुर नवलपरासी, १७ साउन । पशुपति आर्यघाटमा हजारौँ बेवारिसे शव व्यवस्थापन गर्दै समाजसेवामा समर्पित विनयजङ्ग बस्नेतले अब नवलपुरमा पनि मानवीय अभियान सुरु गरेका छन । उनले नवलपुरको कावासोतीमा ूबेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रू को शाखा स्थापना गरी नवलपुर, चितवन र मकवानपुर जिल्लामा भेटिएका बेवारिसे शवको व्यवस्थापनको कार्य प्रारम्भ गरेका छन ।
हालसम्म सात हजारभन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेका बस्नेतले अब यो सेवा विस्तार गर्दै नवलपुरमा पनि सुरु गरेको जानकारी दिए । उनको संस्था बेवारिसे शवको दाहसंस्कार मात्र होइन, सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गरी आश्रय दिनेदेखि दुव्र्यसनीहरूलाई निःशुल्क पुनःस्थापना केन्द्रमा उपचार गराउने सम्मको कार्य गर्दै आएको छ ।
“यो अभियान न त पैसाको लागि हो न त प्रचारको लागि । यो त सामाजिक उत्तरदायित्वको अनुभूति हो,” बस्नेतले भने । उनको अभियानमा स्थानीय प्रहरी प्रशासनको समेत सक्रिय सहयोग रहेको छ ।
संस्थाकी महिला विभाग प्रमुख पूजा विश्वकर्माले आफन्त नभेटिएका शवको अन्त्येष्टि गर्दा आत्माले शान्ति पाउँछ भन्ने विश्वास व्यक्त गर्दै नवलपुरमा अभियान सुरु भएपछि मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका चार वटा बेवारिसे शवलाई देवघाटमा सामूहिक दाहसंस्कार गरिएको जानकारी दिएकी छन ।
यो अभियानले समाजमा मानवता र संवेदनशीलता जगाउने आशा समेत गरिएको छ ।