काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् ।
लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् ।
बिहीबार प्रदेश सभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने सम्भावना छ । महरालाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले)का २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन् ।
दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।