आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रेरणादायी

१० मा पढ्ने विद्यार्थीले प्राकृतिक विपत्तिबारे जानकारी दिने रोबोट निर्माण गरेपश्चात् बनाए विद्युतीय कार


  • 694
    SHARES
  • https://indrenipost.com/posts/7828
    बैशाख १४, २०८१ शुक्रबार
    १० मा पढ्ने विद्यार्थीले प्राकृतिक विपत्तिबारे जानकारी दिने रोबोट निर्माण गरेपश्चात् बनाए विद्युतीय कार

    धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । 

    दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए । ‘कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिए, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ,’ अर्का विद्यार्थी अधिकारीले भने, ‘हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।’

    केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान ग¥यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ । 

    सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उनीहरू बताउँछन् । बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ । 

    गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले  प्रभावित भएको बताए । ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।

    गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ । अध्यक्ष उप्रेतीले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन् । गाडी प्रदर्शन कार्यक्रममा पुगेका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाएका थिए । गाडी बनाउनुभन्दा पहिला उनीहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिए । –रासस  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij