काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष प्रचण्डले उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन संभव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको दाबी गरे । माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनले ठोकुवा गरे ।
माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने उनले बताए ।
अन्य दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए ।
सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताए ।